रुसले तोक्यो कोरोनाविरुद्ध खोपको मुल्य

   २१ मंसिर २०७७, आईतवार ०४:५८  

२१ मंसिर, रौतहट । रुसले कोरोना भाइरसविरुद्धको खोपको मूल्य निर्धारण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयले स्पुतनिक–५ नाम गरेको कोरोना खोपको मूल्य तोकेको हो ।

रुसी समाचार संस्था तासका अनुसार स्वास्थ्य मन्त्रालयले दुई डोज कोरोना खोपको मूल्य १ हजार ९ सय ४२ रुबल(करिब ३ हजार ९१ रुपैयाँ)निर्धारण गरेको हो ।

रुसको ग्यामालेया नेसनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीले कोरोनाविरुद्धको खोप निर्माण गरेको हो ।

स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो। खोपको विकासमा संलग्न वैज्ञानिकहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।

तर उक्त खोपको अझै सामूहिक परीक्षण भइरहेको छ । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।

रुसी स्वास्थ्य मन्त्रीका सहयोगी एक्लेक्से कुज्नेतसोवका अनुसार एउटा बक्समा २ डोजको ५ वटा कोरोना खोपको सेट राखिएको छ । जसको मूल्य ९ हजार ७ सय १० रुबल (१५ हजार ४ सय ५५ नेपाली रुपैयाँ) तोकेको बताएका छन् ।

रुसी नागरिकलाई भने कोरोना खोप निस्शुल्क रुपमा लगाइने सरकारले घोषणा गरेको छ । यसअघि रुस सरकारले कोरोना खोपलाई मुख्य र आवश्यकको औषधिको सूचीमा राखिसकेको छ ।

यसैबीच रुसले कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिसकेको छ । कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको हो ।

राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के–कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार आगामी ६ साताभित्र सम्पूर्ण नागरिकलाई खोपको पहिलो मात्र दिइसकिनेछ।