जापानका हरेक नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क
१७ मंसिर, रौतहट । जापान सरकारले आफ्नो सबै नागरिकलाई कोरोना विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।
कोरोनाभाइरसबाट दैनिक रुपमा संक्रमितहरु भेटिरहेको बेला जापानकोे संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ ।
सरकारले ६ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिच्श्रित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
त्यसैगरि १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोना विरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।
जापानका प्रधानमन्त्रीले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्याधिक संवेदनशील रहेको बताएको दुई हप्तापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।
तुलनात्मक रुपमा जापानमा कोरोनाभाइरको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार १०० जनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।