भारतमा कोेरोनाबाट थप ४८१ ज्नाको मृत्यु, ४४ हजार नयाँ संक्रिमित थपिए

   १० मंसिर २०७७, बुधबार ११:३०  

१० मंसिर, रौतहट । भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसै संग भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४४ हजार व्यक्तिमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्तिमा अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामaकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।” प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहनु भएको छ ।