नेकपा बैठकमा आज प्रधानमन्त्री ओली मौन
भदौ १, रौतहट । सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएपछि, सोमबार सचिवालय बैठक बस्यो ।
आज बसेको बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका हुन् । बैठकमा सहभागी एक सदस्यका अनुसार बैठक सुरु हुनासाथ ओलीले अर्का अध्यक्ष प्रचण्डलाई छलफल अगाडि बढाउन आग्रह गरे, र त्यसपछि उनले थप केही बोलेनन ।
पार्टीमा प्रचण्डले देखिएको संकट समाधानका लागि अध्यक्षहरुलाई सहयोग गर्न कार्यदल बनाएको र त्यसका आधारमा आफूहरुले प्रस्ताव ल्याउन सक्ने बताए ।
तर कार्यदलका सदस्यहरुले पनि पार्टी कमिटीबाट जिम्मेवारी दिए सहज हुने बताएको र अरु नेताहरुले पनि त्यही सुझाव दिएकाले बैठक बोलाएको बताए ।
बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदलको विरोध गरे । उनले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? सचिवालयले निकास दिन नसकेर स्थायी कमिटीका सदस्यहरुको कार्यदल बनाएको हो ? अध्यक्षद्वयले राजीनामा दिने हो ? भनी प्रश्न गरेका थिए ।
उनले कार्यदल गठन गर्न आवश्यक नै नभएको तर्क गरेको एक नेताले जानकारी दिए ।
बैठकले कार्यदल गठन गर्ने अध्यक्षद्वयको निर्णयलाई अनुमोदन गरेको छ । ओली र प्रचण्डले पार्टीको विवाद समाधानको खाका बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको छ । कार्यदललाई कुनै समयसीमा तोकिएको छैन ।
तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति भएको र प्रधानमन्त्री ओलीको संकट तत्कालका लागि टरेको बताएका छन् ।






