भारतमा २४ घण्टामा थपिए २.१७ लाख कोरोना संक्रमित

   ३ बैशाख २०७८, शुक्रबार १६:५७  

३ वैशाख, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यसैसँग कूल सङ्क्रमितको संख्या एक करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

कोरोना सङ्क्रमणबाट बिहीबार एकैदिनमा एक हजार १८५ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७४ हजार नाघेको छ । पछिल्लो केही दिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने, बुधबार र बिहीबार २ लाख भन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ ।

भारतमा हाल १५ लाख ६९ हजार ७४३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म ११ करोड ७२ लाख २३ हजार भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।

विगत केही दिनहरुमा कोभिड १९ को सङ्क्रमण उच्च रहेको छ । सङ्क्रमण बढ्दै गएपछि विद्यालयहरूले परीक्षा रद्द र स्थगित गर्दै आएको छ ।

भारतको पश्चिम बंगालमा बाँकी रहेको चार चरणमा मतदान के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको सहभागितामा शुक्रवार एउटा महत्वपूर्ण बैठक बस्ने जनाइएको छ ।