ताइवानको हवाई क्षेत्रमा देखियो अहिलेसम्मकै धैरे चिनियाँ लडाकु विमान

   ३१ चैत्र २०७७, मंगलवार १२:१३  

३१ चैत, रौतहट । ताइवानको हवाई क्षेत्रमा अहिलेसम्मकै धेरै चिनियाँ लडाकु विमान प्रवेश गरेको छ । सोमबार लडाकु र परमाणु–सक्षम बमवर्षकसहित २५ चिनियाँ विमान आफ्नो ‘वायु रक्षा पहिचान क्षेत्र’मा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै हिस्सा मान्दै आएको छ भने ताइवानले आफूलाई सार्वभौम राष्ट्रका रूपमा लिने गरेको छ । अमेरिकाले पनि ताइवानमा हस्तक्षेप नगर्न भन्दै चीनलाई चेतावनी दिने गरेको छ । अमेरिकी चेतावनीका बाबजुद चिनियाँ विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेका हुन् ।

चिनको पछिल्लो मिसनमा १८ लडाकु विमान, परमाणविक हतियार बोक्न सक्ने ४ बमवर्षक, पनडुब्बीको आक्रमण रोक्ने २ विमान र प्रारम्भिक चेतावनी दिने एक विमान रहेको ताइवानले जनाएको छ ।

चिनियाँ विमानलाई चेतावनी दिन आफूहरूले लडाकु विमान र निगरानीका लागि मिसाइल सिस्टम तैनाथ गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय चीनले ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरको बीचको अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमितजसो उडान भरिरहेको छ ।

बीबीसी