म्यानमारमा खटिएका रेडक्रसका स्वयंसेवकमाथि आक्रमण
१९ चैत, रौतहट । म्यानमारमा रेडक्रसका स्वयंसेवकमाथि आक्रमण भएको इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज् (आईएफआरसी)ले जनाएको छ । प्रदर्शनका क्रममा हताहत भएका नागरिकको उपचार र उद्धारमा खटिएका फ्रन्टलाइनर स्वयंसेवकलाई हतोत्साही गराउन खोजिएको आईएफआरसीले जनाएको छ ।
“म्यानमार रेडक्रसका प्राथमिक उपचारकर्ता र चिकित्सकलाई धम्क्याइएको र घाइते बनाइएको छ,” आईएफआरसीका एसिया प्रशान्त क्षेत्रका निर्देशक अलेक्जेन्डर म्याथ्युले वक्तव्यमार्फत भनेका छन्, “रेडक्रसका एम्बुलेन्स र अन्य सम्पत्तिमा समेत क्षति पुर्याइएको छ ।”
यद्यपि, आक्रमण कसले गरेको हो भन्ने वक्तव्यमा उल्लेख नगरिएको र रेडक्रसका प्रवक्ताले यस विषयमा थप प्रतिक्रिया दिन नमानेका समाचार संस्था रोयटर्सले जनाएको छ ।
सेनाले सत्ता हातमा लिएपछि बढेको मानवीय संकटका विषयमा संगठनले चिन्ता व्यक्त गरेको छ । सेनाले प्रदर्शन दमन गर्ने क्रममा हालसम्म ५०० बढी सर्वसाधारणको ज्यान गएको जनाइएको छ । म्यानमार रेडक्रस सोसाइटीले दुई हजारभन्दा बढीको उपचार गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा छाएका भिडियोहरुमा सुरक्षाकर्मीले उपचारकर्मीहरुमाथि हातपात गरेको र एउटा एम्बुलेन्समा गोली हानेको देखिएको जनाइएको छ ।