न्युयोर्कमा गाँजा खुल्ला गर्ने कानुन पारित
१८ चैत, रौतहट । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुओमोले मनोरञ्जनका लागि गाँजा खुला गर्ने विधेयकमा हस्ताक्षर गर्ने योजना बनाएका छन् ।
राज्यका दुवै सदन सिनेट र एसेम्ब्लीले कानून पारित गरेपछि कुओमोको भनाइ आएको हो ।
सिनेटले विधेयक एस८५४क लाई २३ का विरुद्ध ४० भोटबाट पारित गरेको हो । त्यसपछि विधेयकलाई एसेम्ब्ली पठाइएको थियो । त्यहाँँ पक्षमा १०० र विपषमा ४९ भोट परेको थियो ।
आफ्नो डेस्कमा आएपछि विधेयकमा हस्ताक्षर गर्ने कुओमोको भनाइ छ ।
‘गाँजामा प्रतिबन्ध लगाउँदा काला जातिका समुदायलाई मर्का गरिरहेको थियो । उनीहरूले कठोर कारावास सजाय पाइरहेका थिए । वर्षौंको कठोर मेहनतपछि आएको यो ऐतिहासिक कानूनले सीमान्तीकृत समुदायलाई न्याय प्रदान गर्छ, अर्थतन्त्रलाई वृद्धि गर्ने नयाँ उद्योगलाई अंगीकार गर्छ र जनताका लागि पर्याप्त सुरक्षा प्रदान गर्छ,’ गभर्नरले भने ।
यस विधेयकका प्रायोजक सिनेटर लिज क्रुगरले मंगलवार बेलुका लागूऔषध नियमका कारण काला जातिका मानिसमाथि चरम अन्याय हुने गरेको भनी भावुक बयान दिए । गाँजा लिएकै कारण कैयौं युवाको जीवन ध्वस्त बनाइएको उनको भनाइ छ ।