भारतमा अन्तर्राष्ट्रिय उडानहरु ३० अप्रिल सम्म लम्बियो

   ११ चैत्र २०७७, बुधबार १३:३८  

११ चैत, रौतहट । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । केही समययता कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतका विभिन्न स्थानमा लकडाउन र कर्फ्यु पनि लगाइएको छ ।

कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेपछि भारतमा नयाँ निर्देशिका पनि जारी गरिएको छ । केन्द्रीय सरकारले गएको मंगलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको थियो ।

यस्तै भारतमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध पनि लम्बाइएको छ । भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडान प्रतिबन्धलाई ३० अप्रिल सम्म बढाएको हो ।

पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २ सय ३९ कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड १७ लाख ३३ हजार ५ सय ९४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा २ सय ७७ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २३ हजार ९ सय १३ जना निको भएका छन्। भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।