भारतमा थपिए ४७ हजार कोरोना संक्रमित
९ चैत, रौतहट । भारतमा कोरोना संक्रमितको संख्यामा फेरी वृद्धि भइरहेको छ ।
पछिल्लो २४ घण्टामा नै भारतमा ४७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज जानकारी दिएको छ ।
यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट २ सय १२ जनाको मृत्यु भएपछि भारतमा संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ लाख ५९ हजार ९ सय ६७ पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको छ । कूल संक्रमितमध्ये ३ लाख ३४ हजार ६ सय ४६ जना अहिले पनि उपचाररत नै रहेका हुन् । यस्तै, कोरोनामुक्त हुनेहरुको कूल संख्या १ करोड ११ लाख ५१ हजार ४ सय ६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ४ करोड ५० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा गत २४ घण्टामा ८२३ जनामा कोरोना पुष्टि भएको छ, भने एक जनाको मृत्यु भएको हो । नयाँ दिल्लीमा कोरोना शुरु भएदेखि यता हालसम्म १० हजार ९ सय ५६ जनाको मृत्यु भईसकेको छ ।