म्यानमारः प्रदर्शनकारीमाथि गोली चलाउँदा थप ३८ जनाको मृत्यु

   २ चैत्र २०७७, सोमबार ११:२४  

२ चैत, रौतहट । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा थप ३८ जनाको मृत्यु भएको छ । हिजो (आइतवार) सुरक्षाकर्मीको गोली लागेर म्यानमारभर थप ३८ प्रदर्शनकारीको मृत्यु भएको हो ।

सुरक्षाकर्मीले म्यानमारको मुख्य शहर याङगुनमा प्रदर्शनकारीमाथि गोली चलाएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।एसिस्टेन्ट एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले आइतवार कम्तीमा ३८ प्रदर्शनकारीको मृत्यु भएको र अन्य धेरै प्रदर्शनकारीहरु घाइते भएको बताएको छ । म्यानमारको प्रहरीले भने २१ प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ ।

त्यस्तै, पछिल्लो समय प्रदर्शनकारीले चिनीयाँ लगानीका व्यापारी प्रतिष्ठानमा ढुंगामुडा गरेका छन् । प्रदर्शनकारीहरुले चिनियाँ व्यवसाय लक्षित आक्रमण गरेका छन् । चिनियाँ लगानीको व्यवसायमा आक्रमण गरेसँगै केही स्थानमा सैन्य कानुन लागू भएको घोषणा गरिएको छ ।

चीनले म्यानमारको सेनालाई साथ दिएको भन्दै म्यानमारका प्रदर्शनकारी चीनप्रति आक्रामक देखिएका हुन् ।प्रदर्शनकारीहरुले चिनियाँ कपडा उत्पादन कारखानाहरुमा लगायत होटलमा पनि आक्रमण गरेको चीनको दाबी छ ।

चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत् म्यानमारमा कारखानाहरु लुटिएको र तोडफोड गरिएको तथा धेरै चिनियाँ कर्मचारीहरु घाइते भएको र थुनिएको बताएको छ ।

फेब्रुअरी १ मा भएको सैन्य कू लगत्तै म्यानमारमा विरोध प्रदर्शन भइरहेका छन् ।