भारतमा कोरोना संक्रमणमा तीब्रता, केही राज्यहरुमा लकडाउन
२ चैत, रौतहट । भारतमा फेरि केहि दिनदेखि संक्रमण तीब्र बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतीय संचारमाध्यमका अनुसार भारतमा पछिल्लो तीन महिनादेखि दैनिक संक्रमित संख्याभन्दा धेरै संक्रमित भएको हो । गएको डिसेम्बरमा २६ हजार ६ सय २४ जनालाई संक्रमण भएको पाइएको थियो ।
भारतमा अहिलेसम्म कोरोना सङ्क्रमितको संख्या एक करोड १३ लाख नाघेको छ । भारतमा कोरोनाका कारण एक लाख ५८ हजारभन्दा धेरैको ज्यान गएको छ भने एक करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
यस्तै, अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । भारतको महाराष्ट्र, कर्नाटक, केरला, पञ्जाब, गुजरातलगायतका विभिन्न ठाउँमा सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
यी राज्यका विभिन्न ठाउँमा लकडाउन र रात्रिकालीन कर्फ्यु लगाइएको छ । कोरोनाको झण्डै ६० प्रतिशत सक्रिय सङ्क्रमित महाराष्ट्रमा पाइएको छ ।