एकै दिन कोरोनाबाट ब्राजिलमा १५ सयभन्दा बढिको मृत्यु

   २३ फाल्गुन २०७७, आईतवार १५:३४  

२३ फागुन, रौतहट । कोरोनाभाइरसका कारण ब्राजिलमा एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको हो ।

योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुने सङ्ख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ । ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ ।

दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो । यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो ।