युरोपेली संघले लगाए म्यानमारका सेना माथि प्रतिबन्ध

   ११ फाल्गुन २०७७, मंगलवार १४:४७  

११ फागुन, रौतहट । सैन्य ‘कू’को मुद्दालाई लिएर युरोपेली संघका नेताहरु म्यानमारको सेनामाथि प्रतिबन्ध लगाउन तयार भएका छन् । मुलुकका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

ईयूका विदेश नीतिका प्रमुख जोसेप बोरेलले भने म्यानमारसँगको व्यापारमा कुनै प्रतिबन्ध नलगाइने बताए । व्यापारमा प्रतिबन्ध लगाउँदा म्यानमारका आम जनता मर्कामा पर्न सक्ने भन्दै ईयूले व्यापारमा प्रतिबन्धको प्रस्ताव अस्वीकार गरेको हो ।

बोरेलले भने, ‘हाम्रो विकास प्रणालीमार्फत् म्यानमारको पुनर्संरचनाको लागि दिइने सबै किसिमको प्रत्यक्ष वित्तीय सहयोग पनि रोकिएको छ ।’ यसअघि नै सैन्य कूको विरोध गर्दै बेलायत, क्यानडा, न्युजिल्याण्ड र अमेरिकाले म्यानमारको सैनामाथि प्रतिबन्ध लगाइसकेका छन् ।

विश्वभरबाट कूको विरोध भइरहे पनि म्यानमारको सेनाले भने सत्ता आम जनतालाई हस्तान्तरण गर्न अस्वीकार गर्दै आएको छ । सेनाले आफूले मुलुकमा स्वच्छ निर्वाचन गराउँदै त्यसमा जित हात पार्ने पार्टीलाई सत्ता सुम्पिने दाबी गर्दै आएको छ ।