कोरोनाबाट ज्यान गुमाएको प्रति जो बाइडेनको सम्बोधन , ५ दिन अमेरिका शोक मनाउँने

   ११ फाल्गुन २०७७, मंगलवार ११:५८  

११ फागुन, रौतहट । अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख पार भएको छ । संसारभरी कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ ।

ह्वाइट हाउस बाहिर मैनबत्ती बालेर मृतात्मालाई श्रद्धाञ्जली दिए र साथै राष्ट्रपति तथा उपराष्ट्रपतिले केही बेर मौन धारण गरे । हालसम्म अमेरिकामा २ करोड ८८ लाख कोरोनाकारण संक्रमित भएका छन् जुन आफैमा एक विश्व रेकर्ड हो ।

राष्ट्रपति बाइडेनले अमेरिकीहरुलाई कोभिडविरुद्ध लड्न आह्वान गर्दै भने, ‘आज हामी सबै अमेरिकीलाई भन्न चाहन्छु कि उनीहरुले याद गरुन् । जसलाई हामीले गुमाएका छौं, उनीहरुलाई याद गरौं र उनीहरुलाई याद गरौं जसलाई हामीले पछाडि छोडिदियौं ।’

राष्ट्रपतिले पाँच दिनका लागि सरकारी भवनमा सबै राष्ट्रिय झण्डालाई आधा झुकाउने आदेश दिएका छन् । महामारीको विषयमा राष्ट्रपति बाइडेनको अप्रोच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा भिन्न छ ।