भारतमा ४५ लाख भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
२२ माघ, रौतहट । गत १६ जनवरी भारतमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका भारतीय समाचारमा जनाइएको छ ।
बुधबारसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ९० हजारभन्दा बढी पुगेको छ ।भारतमा विगत २४ घण्टाको अवधिमा १२ हजार ८९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ९० हजार १८३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १०७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ७०३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।






