पाकिस्तानमा बुधबारबाट नै कोभिड–१९ विरुद्धको खोप अभियान शुरु

   २२ माघ २०७७, बिहीबार १०:५६  

२२ माघ, रौतहट । पाकिस्तानमा कोभिड–१९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान शुरु गरेको छ । चीन सरकारले उपलब्ध गराएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीलाई लागि रहेको पाकिस्तान सरकारको भनाई छ ।

सिनोफार्म फर्मास्यूटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप चीनले सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरु लाखौं डोज खोप पाकिस्तान ल्याउने र आम जनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ ।

सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरुले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् ।

करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ । तर सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित व्यक्ति र मृत्युको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।

सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरुले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ ।

अस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्स मार्फत सन् २०२१ को पहिलो छ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारले विश्वास लिएको छ ।

भारतले छिमेकी मुलुकहरुलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान रहेको छैन ।