न्युक्लियर सम्झौतामा सबै देशलाई फर्किन इरानी विदेशमन्त्रीको आग्रह

   २० माघ २०७७, मंगलवार १४:३३  

२० माघ, रौतहट । इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले सोमबार सीएनएनसँगको अन्तर्वार्ताको क्रममा सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किन अमेरिकासहित सबै मुलुकलाई सहकार्य गर्न आग्रह गरेको छ ।

मन्त्री जरिफले अहिलेको अवस्थामा कि एकसाथ आउने वा समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रशासनले इरानसँगको न्युक्लियर सम्झौतामा फर्किनुपर्नेमा जोड दिँदै आएको छ । तर, अमेरिकाले प्रतिबन्ध नहटाएसम्म उक्त सम्झौतामा फर्किने सम्भावना नरहेको मन्त्री जरिफले बताएको थियो ।

सन् २०१५ मा भएको सम्झौताअनुसार इरान आफ्नो न्युक्लियर कार्यक्रम सीमित पार्न सहमत भएको थियो । साथै अमेरिकाले पनि इरानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सोमबार सीएनएनसँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री जरिफले अमेरिका उक्त सम्झौता पालना गर्न तयार हुनुपर्ने र त्यसका लागि इरान पनि तयार रहेको बताए । राजनीतिक विश्लेषकहरुले पनि अमेरिकालाई इरानसँग भएको न्युक्लियर सम्झौतामा सामेल हुन आग्रह गरेका छन् । तर, अमेरिकाले भने इरानले माग गरेजस्तो तत्कालै प्रतिबन्ध हटाई न्युक्लियर सम्झौतामा नफर्किने बताएको थियो ।