भारतमा पोलियोको साटो स्यानिटाइजर खुवाए पछि १२ बालबालिकालाई अस्पताल भर्ना

   २० माघ २०७७, मंगलवार १३:५४  

२० माघ, रौतहट । भारतको महाराष्ट्रमा यवतमाल जिल्लाको कापसिकोपरी गाउँमा १२ बालबालिकालाई पोलियो थोपाको साटो स्यानिटाइजर खुवाइएको छ । सबै बालबालिकाको उमेर पाँच वर्षभन्दा कम रहेको एक भारतीय समाचार संस्थाले जनाएको छ ।

बान्ता र असहज महसुस गरेपछि उनीहरुलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । उनीहरुको स्वास्थ्यस्थिती स्थिर भएको बताइएको छ । डाक्टरको समूहले उनीहरुको निगरानी गरिरहेको छ ।

यो विषयमा भानबोरा प्राथमिक स्वास्थ्य केन्द्रका एक डाक्टर, आंगनवाडीकी एक सेविका र एक कार्यकर्ताविरुद्ध अनुसन्धानको आदेश दिइएको छ । यवतमालका सामाजिक कार्यकर्ता किशोर तिवारीले आफूले स्वास्थ्यमन्त्री राजेश टोपेलाई भेट गर्ने र दोषीमाथि कारवाहीको माग गर्ने जानकारी दिएका छन् ।

घटना आइतबारको हो । त्यसको भोलिपल्ट सोमबार जब पोलियो अभियान लिएर आएका समूहलाई यसबारे जानकारी दिइयो तब उनीहरुलाई आफ्नो गल्ती महसुस भएको र उनीहरुले दोस्रोपटकमा ती बालबालिकालाई पोलियोको थोपा खुवाए ।