युएईले कस्ता विदेशीलाई आफनो नागरिकता दिने?
१८ माघ, रौतहट । विदेशी नागरिकका लागि युनाइटेड अरब इमिरेट्स (युएई)ले आफ्नो देशको नागरिकता दिने भएको छ ।
विभिन्न क्षेत्रमा विशेषज्ञ ज्ञान भएका व्यक्तिहरुलाई युएईले आफ्नो देशको नागरिकता दिने दुबईका शासक तथा युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रशदले घोषणा गरेका हुन् ।
रशदले लगानीकर्ताहरु, विशेषज्ञता भएका व्यक्तिहरु तथा विभिन्न क्षेत्रका उच्च व्यवसायिक व्यक्तिहरुलाई नागरिकता प्रदान गर्ने शनिबार घोषणा गरेका हुन् । व्यवसायिक व्यक्तिहरुमा वैज्ञानिक, डाक्टर, इन्जिनियर, कलाकार तथा लेखक र उनीहरुको परिवारलाई नागरिकता दिने बताए ।
नयाँ नागरिकता कानुनअनुसार उल्लेखित क्षेत्रका व्यक्तिहरु युएईको नागरिक बन्न योग्य हुनेछन् । युएईको मन्त्रिपरिषद्, स्थानीय अदालत र कार्यकारी परिषद्ले तोकिएको प्रष्ट कार्यविधिअनुसार नागरिकताका लागि योग्य व्यक्ति छान्ने छन् ।
नयाँ कानुनको उदेश्य युएईमा नयाँ विशेषज्ञता भएका व्यक्तिहरुलाई ल्याउने र अरबी समुदायलाई समृद्ध बनाउने रहेको छ । प्रतिभा र प्रतिस्पर्धालाई सम्मान गर्नका लागि नयाँ नागरिकता कानुन ल्याएको प्रधानमन्त्री रशदले बताएका अलजजिराले लेखेको छ