जर्मनीले पाँच देशका लागि आफ्नो नाका बन्द गरे

   १७ माघ २०७७, शनिबार १६:१५  

१७ माघ, रौतहट । जर्मनीले शनिबारदेखि कोरोनाबाट अति प्रभावित विभिन्न पाँच देशका लागि आफ्नो नाका बन्द गर्ने निर्णय गरेको छ । बेलायत, आयरल्यान्ड, ब्राजिल, पोर्चुगुल र दक्षिण अफ्रिका हुँदै कुनै पनि माध्यमबाट पर्यटकहरु जर्मनी प्रवेश गर्न पाउने नपाउनेसमाचारमा जनाइएको छ । यो निर्णय १७ फेब्रअरीसम्म हुने जर्मन सरकारले जनाएको छ ।

नयाँ प्रकारको कोभिड १९ बाट यी देशहरु निकै प्रभावित भएका छन् । बेलायत र दक्षिण अफ्रिकामा देखिएको नयाँ प्रकारको कोरोना पुरानो प्रकारको कोरोना भन्दा निकै चाँडो फैलनसक्ने बताइएको छ । जर्मनीले आफ्नो देशमा महामारी थप नफैलियोस् भने सर्तकताका लागि यस्तो निर्णय लिएको हो ।

जर्मनीमा २२ लाखभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ । त्यस्तै ५७ हजारभन्दा धेरै ज्यान गुमाइसकेका छन् भने १९ लाख ११ हजारजना निको भइसकेका छन् । कोरोना कारण अति प्रभावित हुने देशको सुचीमा अमेरिका पहिलो नम्बरमा रहेको छ । त्यहाँ कोरोना कारण ४ लाख ४७ हजार ४ सय ५९ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, ब्राजिलमा २ लाख २२ हजार ७ सय ७५ जनाको मृत्यु भएको छ । भारतमा २ लाख ५४ हजार १ सय ८४ जनाको मृत्यु भएको छ । युरोपमा सबैभन्दा धेरै मृत्यु बेलायतमै भएको छ । यहाँ कोरोनाले १ लाख ४ हजार ३ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, इटलीमा ८७ हजार ८ सय ५८ र फ्रान्समा ७५ हजार ६ सय २० जनाको मृत्यु भएको छ ।