बंगलादेशले वेस्ट इन्डिजमाथि ‘क्लिन स्विप’
१३ माघ, रौतहट । बंगलादेशले तीन एकदिवसीयको शृंखलामा सोमबार राति वेस्ट इन्डिजमाथि ‘क्लिन स्विप’ गरेको छ । बंगलादेश तेस्रो तथा अन्तिम डे–नाइट खेलमा सजिलै १ सय २० रनले विजयी भयो ।
यससँगै बंगलादेशले आईसीसी वानडे सुपर लिगमा विजयी सुरुआत लिएको छ । यो उसका लागि सन् २०२३ को विश्वकपको छनोट यात्रा पनि हो ।
सुरुआती दुई एकदिवसीय पनि सजिलै जितेको बंगलादेशले तेस्रो खेलमा पहिले ब्याटिङ गरेर ६ विकेटमा २ सय ९७ रन बनाएको थियो । त्यसमा तमिक इक्वाल, मुसफिकिर रहिम र महमुदुलहले समान ६४ रन बनाए ।
जवाफमा वेस्ट इन्डिजले ४४.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । रोभमन पावेलले बनाएको ४७ रन बाहेक अन्य कुनै पनि खेलाडीले टोलीका लागि प्रभावकारी योगदान गर्न सकेनन् ।