नेदरल्यान्ड्समा कोरोनाविरुद्ध प्रदर्शनकारी र प्रहरीबीच लगातार तेस्रो दिन झडप
१३ माघ, रौतहट । नेदरल्यान्ड्समा बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ ।
नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार ५०० जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको हो जसमा राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु जारी गरिएको छ । कसैले नियम उल्लंघन गरे ११५ डलरसम्मको जरिवाना तोकिएको छ ।
प्रधानमन्त्री मार्क रुटले आन्दोलनको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘अपराधिक हिंसा’ ठहर गरेका छन् । उनले भने, “यी मानिसहरुको विरोध प्रदर्शनसँग कुनै लेनदेन छैन । यो पूर्ण रुपमा अपराधिक हिंसा हो र हामी त्यसैअनुरुप यसमाथि कारबाही अघि बढाउनेछौँ ।”
नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै देशभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् । स्कुललगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।
आइतबारको हिंसात्मक झडपलाई डच प्रहरीहरुले चार दशककै सबैभन्दा खराब किसिमको हिंसा र अशान्ति भनेर व्याख्या गरेका थिए । शनिबारको आन्दोलनमा कोभिड परीक्षणका केन्द्रहरुमा पनि आगजनी गरिएको थियो