टीआरपीका लागि गोस्वामीले बुझे ४० लाख रुपियाँ

   १२ माघ २०७७, सोमबार १६:४५  

१२ माघ, रौतहट । भारतीय पत्रकार अर्नब गोस्वामी टीआरपी काण्डमा फेरि जेल जानसक्ने अवस्था उत्पन्न भएको छ। टीआरपी बढाउन पैसा दिएको भन्दै यसअघि नै उनी हिरासत पुगेका थिए। हाल उनी जमानतमा छाडिएका छन्।

पैसा दिएर टीआरपी बढाउने कार्यमा लागेको भन्दै अन्य दुई टेलिभिजनका अधिकारी र टीआरपी तोक्ने बार्क नामक संस्थाका पूर्व प्रमुख पार्थो दासगुप्ता हाल जेलमै छन्।

पहिले गोस्वामीले टीआरपी बढाउन आफूले पैसा नतिरेको बताउँदै आएका थिए। यतिबेला टीआरपी तोक्ने बार्कका पूर्व प्रमुख दासगुप्ताले आफैंले टीआरपी बढाउन सहयोग गर्नका लागि गोस्वामीले आफूलाई ४० लाख रुपियाँ प्रदान गरेको बताएका छन्। त्यससँगै गोस्वामीले आफूलाई १२ हजार अमेरिकी डलर छुट्टी मनाउन पनि प्रदान गरेको उनको भनाइ छ।

यसअघि प्रहरीले गोस्वामी र पार्थो दासगुप्ताबीचको वाट्सएप म्यासेज पनि अनुसन्धान गरेको बताएका थिए। त्यहाँ टीआरपी बढाउने विषयमा कुराकानी भएको देखिएको थियो। वाट्सएप म्यासेजमा गोस्वामीले आप्नो रिपब्लिक टीभीको टीआरपी बढाउन दासगुप्तासँग मद्दत मागेको प्रहरीले बताएका थिए।

टीआरपीको सिधा सम्बन्ध विज्ञापनबाट आउने पैसासँग हुन्छ। टीआरपी बढेमा विज्ञापन बढ्छ र टीभीले प्रसस्तै आम्दानी गर्न सक्छन्। टीआरपीमा आएको घटीबढीले हजारौं करोडको आम्दानीमा असर पुग्ने बताइएको छ। त्यसकारण टीआरपी बढाउनकै लागि अवैध रुपमा पैसाको लेनदेन हुने कार्यलाई अवैधानिक मानिन्छ।