रुस विरोध प्रदर्शनः ३ हजारभन्दा बढी मानिस हिरासतमा

   ११ माघ २०७७, आईतवार ११:१७  

११ माघ, रौतहट । राष्ट्रपति पुटिनविरुद्ध भएको विरोध प्रदर्शनको क्रममा रुसी प्रहरीले ३ हजारभन्दा बढी मानिसलाई हिरासतमा लिएको खबर आएको छ । जेलमा बन्द विपक्षी नेता एलेक्सी नाभेल्नीको समर्थनमा पुरा रुसभरी विरोध प्रदर्शन सुरु भएको छ ।

प्रदर्शकहरुले १० हजारको संख्यामा रहेको सुरक्षाबल तैनाथ हुदाँ पनि प्रदर्शनमा भाग लिएका छन् । पछिल्ला केही वर्षमा पुटिनविरुद्ध यो प्रदर्शन सबैभन्दा ठूलो रहेको देखिन्छ ।राष्ट्रपति पुटिनको विपक्षी आलोचक नाभेल्नीले आइतबार आफ्नो गिरफ्तारी पछि प्रदर्शको घोषण गरेका थिए ।

नाभेल्नीका थुप्रै निकट सहयोगीलाई शनिबारको प्रदर्शन अघि नै हिरासतमा लिइयो । यसमा उनकी श्रीमती युलिया, एक प्रवक्ता र उनका वकिल पनि संलग्न छन् । नाभेल्नीलाई जेलमा हालिएपछि उनका समर्थक सोसल मिडियामा ओर्लिएका थिए र विरोध प्रदर्शनको घोषण गर्न थालिएको थियो । रुसका करिब ६० शहरमा विरोध प्रदर्शन भएको अनुमान गरिएको छ ।

नाभेल्नी आइतबार बर्लिनबाट फर्किएर मस्को आइरहेका थिए र त्यसपछि उनलाई पक्राउ गरियो । उनी अघिल्लो वर्षको अगस्टमा रुसमा भएको घातक नर्व एजेन्ट हमलापछि बर्लिनबाट मस्को फर्किएका थिए ।

मस्को पुग्ने बित्तिकै शर्त उल्लंघन गरेको भन्दै दोषी ठहर गर्दै हिरासतमा लिइएको थियो । नाभेल्नीका अनुसार यो मुद्दा उनलाई चुप गराउनका लागि रचिएको हो र उनले आफ्ना समर्थकलाई विरोध प्रदर्शन गर्न आह्वान गरे ।