बङ्लादेशको शरणार्थी शिविरमा आगलागी, सयौँ शरणार्थी बासस्थान विहिन

   २ माघ २०७७, शुक्रबार १०:४९  

२ माघ, रौतहट । बङ्लादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा ठूलो आगलागी भएको छ । आगलागीका कारण सयौँ शरणार्थीहरुका टहरा जलेर उनीहरु बासस्थान विहिन भएका छन् । कक्स बजारमा रहेको नयाँपारा रोहिंग्या शरणार्थी शिबिरमा भएको थियो ।

सरकारी अधिकारीका अनुसार कम्तीमा ५०० टहरामा बस्ने शरणार्थी आगलागीका कारण प्रभावित बनेका छन् । आगलागीका कारण कुनै मानवीय क्षति भएको विवरण भने प्राप्त नभएको उनीहरुको भनाइ छ । शरणार्थी सहायता आयुक्त मोहम्मद शम्सद डौजाले स्थानीय समयअनुसार बिहीबार बिहान ३ बजे आगलागी भएको जानकारी दिए ।

“झण्डै दुई घण्टापछि मात्रै विहान ५ बजेतिर आगलागी नियन्त्रण गरिएको थियो, त्यति बेलासम्ममा रोहिंग्या शरणार्थीका झण्डै पाँच सय टहरा पूर्ण रुपमा जलेका थिए,” उनले भने । टहरा पनि जलेपछि त्यसमा बस्दै आएका हजारौँ शरणार्थीहरु अहिले हिँउदे जाडोको मारमा परेको प्रत्यक्षदर्शीले बताए ।

उनीहरुलाई अहिले लगाउने, ओड्ने, ओच्छयाउने कपडा, बस्ने ठाउँ, खाद्य पदार्थको खाँचो रहेको र त्यसको व्यवस्थापन गरिदिने कार्य भइरहेको पनि उद्धार कार्यमा सम्लग्नहरुले जनाएका छन् ।