भारतमा २०० देखि २९५ रूपैयाँमै उपलब्ध हुनेछ कोरोना विरुद्धको खोप
२९ पुस, रौतहट । भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन् ।
भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए ।
“कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्ष्टीच्यूड अफ इन्डीया (एसआईआई)ले गरिरहेको छ,” भूषणले भने । त्यसैगरी अर्को खोप कोभ्याक्सीन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए ।
यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेड (बीबीआईएल)ले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ ।
दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ ।