जो बाइडेनको जनवरी २० मा सपथ,संसद भवनकाे झाडपमा ४ जनाको मृत्यु पछि वासिंटनमा कर्फ्यू

   २३ पुष २०७७, बिहीबार १८:५४  

२३ पुस, रौतहट । अमेरिकाका दुवै सदनले पेनसिलभेनिया र एरिजोनाको मत गणनाबारे आएका आपत्तिलाई खारेज गरेको छ।

यो सँगै जो बाइडेन र कमला ह्यारिसको जीतलाई सदनले आधिकारिकरुपमा पुष्टि गरेको छ। बाइडनलाई ३०६ मत प्राप्त भएको जनाइएको छ जबकी जीतका लागि २७० मत आवश्यक हुन्थ्यो।

अमेरिकी चुनावी नतिजाको पुष्टि संसदबाट हुने गर्छ। यो सामान्य प्रक्रिया भए पनि बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा हमला गरेपछि कर्फ्यु लगाइएको छ ।

वासिङटन डिसी प्रहरीका अनुसार क्यापिटल भवनमा जबर्जस्ती प्रवेश गर्दैगर्दा प्रहरीसँग भएको झडपमा चारजना मारिएका छन् ।

यसअघि एक महिलाको गोली लागेर मृत्यु भएको बताइएको थियो भने बाँकी तीनजना मेडिकल इमरजेन्सीको परिणामस्वरुप मृत घोषित भएको बताइएको छ । अहिलेसम्म यसमा ५२ जना पक्राउ परेका छन् । जसमा ४७ ले कर्फ्यु उल्लंघन गरेका थिए ।

यसअघि मृत्यु भएकी महिला सेन डिएगोकी बासिन्दा असिल बबित भएको बताइएको छ । उनी अमेरिकी एयर फोर्सकी भेटेरान थिइन् र प्रदर्शनकारीहरुसँगै संसद् भवनभित्र जबर्जस्ती घुस्न खोज्दा प्रहरीको गाली लागी उनको मृत्यु भएको बताइएको छ ।

उनलाई अमेरिकी समयानुसार दिउँसो ३ बजे गोली लागे पछि मृत घोषित गरिएको थियो ।

केही रिपब्लिकन सांसदले नतिजा प्रमाणितको समयमा अवरोधको प्रयास गरेका थिए। संसदले विजय पुष्टि गरेसँगै बाइडेन र ह्यारिसले जनवरी २० मा अमेरिकाको राष्ट्रपति र उपराष्ट्रपतिको शपथ लिनेछन्।

एजेन्सी