अमेरिकाको जर्जिया राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी

   २२ पुष २०७७, बुधबार १६:१३  

२२ पुस, रौतहट । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी सञ्चारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् ।

यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार रहेका थिए। सिबिएस, एनबिसी र सिएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएको जनाएका छन् । यद्यपि केल्लीले आफूले हार स्वीकारेका छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पिडादायी हुने अनुमान गरिएको छ । जर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ, र त्यहाँ पनि रिपब्लीकन र डेमोक्रेट पार्टी दुबैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

यदि दुबै स्थानमा डेमोक्रेट पार्टी विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ, र उनले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछन् । तर रिपब्लीकन पार्टीले एक स्थान जिते पनि सिनेटमा रिपब्लीकनको बहुमत कायम हुनेछ । अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ ।