विश्वभर देखिन थाल्यो नयाँ प्रकारको कोरोनाभाइरस
१२ पुस, रौतहट । कोभिड-१९ को नयाँ प्रकार यूकेबाहेक अन्य कैयौँ युरोपेली देश एवम् क्यानडा र जापानमा समेत पुष्टि गरिएको छ।
अधिकारीहरूका अनुसार क्यानडाको ओन्टेरियोमा सङ्क्रमित पाइएका एक दम्पतीले भने न हालै कुनै यात्रा गरेका थिएनन् न उच्च जोखिममा रहेका कसैलाई भेटेका थिए।
जापानमा सबैभन्दा पहिले यूकेबाट फर्किएका पाँचजना यात्रुमा सङ्क्रमण देखिएको थियो।
त्यसपछि पुष्टि भएका थप दुई सङ्क्रमणका घटनामध्ये एउटा आन्तरिक रूपमै फैलिएको बताइएको छ। जापानले सोमवारबाट एक महिनाका लागि धेरैजसो गैरआवासीय विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउँदैछ।
फ्रान्समा १९ डिसेम्बरमा यूकेबाट फर्किएका एक व्यक्तिमा उक्त प्रकार देखा परेपछि उसले यूकेसँग सीमा बन्द गरेको थियो। तर परीक्षण गरेर आउजाउ गर्न सकिने भन्दै गत बुधवारबाट युरोपेली सङ्घका नागरिकहरूका लागि त्यो निर्णय हटाएको थियो।
प्रतिबन्धका कारण हजारौँ लरी ड्राइभरहरूले क्रिसमसको दिन यूकेको केन्टमा दिन बिताएका थिए।
यसअघि डेनमार्क, जर्मनी, इटली, द नेदरल्याण्ड्स र अस्ट्रेलियामा समेत उक्त नयाँ प्रकार पुष्टि भएको थियो। स्पेन, स्वीट्जरल्याण्ड, स्वीडेन र फ्रान्समा भेटिएका सङ्क्रमितको सम्बन्ध यूकेबाट फर्केका मानिसहरूसँग पाइएको छ।
भाइरसको नयाँ प्रकार देखिएपछि गतसाताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।






