काबुलमा भएको बम विस्फोटमा परि ८ जनाको मृत्यु, १५ जना घाइते
५ पुस, रौतहट । अफगानिस्तानको राजधानी काबुलमा एउटा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। घटनामा सांसद तथा केही बालबालिकासहित १५ जना घाइते भएका छन्।
आज दिउँसो भएको विस्फोटमा महिला, वृद्धवृद्धा तथा बालबालिकासमेत परेको त्यहाँको गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनले बताएका छन्। ‘आतंककारीहरुले राजधानी काबुल सहरमा आतंकवादी हमला गरेका छन्’, प्रवक्ता अरिएनले भनेका छन्।
त्यहाँका एक सांसद खान मोहम्मद चढिरहेको गाडीलाई लक्षित गरी आक्रमण गरिएको बताइएको छ। उनी चढेको गाडीमा भएको आक्रमणमा आसपासका सार्वजनिक सवारीमा चढेका मानिसहरुसमेत चपेटामा आएका हुन्।
शक्तिशाली बम विस्फोटबाट आसपासका घरमा समेत क्षति पुगेको छ। विस्फोटपछि दुईवटा कारमा आगलागी भएको र घटनास्थल धुवाँले भरिएको अधिकारीहरुले जनाएका छन्।