लियोनल मेसीको सुखद बिदाइ

   २१ आश्विन २०८३, बुधबार १२:४१  

२१ असोज, काठमाडौं । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोनल मेसीको सुखद बिदाइ गरेको छ ।

बुधबार ब्युनस आयर्सस्थित मास मोन्युमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन निकोलस आटामेन्डी, निको पाज र मेसीले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औँ मिनेटमा ओटामेन्डीको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो ।

पाजले ६१औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । १० मिनेटपछि मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए । अन्तर्राष्ट्रिय फुटबलमा यो मेसीको १२६औँ गोल हो ।

मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेको एक महिनाभन्दा बढी भइसकेको छ । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको थियो ।

‘लास्ट ट्याङ्गो’ नाम दिइएको यो खेल मेसीको २०८औँ अन्तर्राष्ट्रिय खेल हो ।

खेलका लागि भनेर एडिडासले मसीको ब्रान्ड लोगो अंकित विशेष जर्सी तयार पारेको थियो ।

खेल सकिएपछि म्याच रेफ्रीले मेसीलाई रातो र पहेंलो कार्ड हस्तान्तरण गरेर विशेष सम्मान दिएका थिए । यसैगरी, स्कृनमा मेसीको खेल यात्रा झल्काउने भिडियो प्रदर्शन गरिएको थियो ।