विश्वकपको पहिलो खेलपछि महान बलर डेल स्टेनले दिए नेपाललाई कोचिङ गर्ने खुला अफर

   २७ माघ २०८२, सोमबार ११:५७  

२६ माघ, काठमाडौँ । टी–२० विश्वकप २०२६ को पहिलो खेलमै नेपाली क्रिकेटले विश्वको ध्यान तानेको छ। इंग्ल्यान्डजस्तो बलियो टोलीविरुद्ध मात्र ४ रनले पराजित भए पनि नेपालले देखाएको साहसी र प्रतिस्पर्धात्मक प्रदर्शनले अन्तर्राष्ट्रिय क्रिकेट जगतलाई प्रभावित बनाएको हो।

आइतबार मुम्बईस्थित ऐतिहासिक वानखेड़े स्टेडियममा भएको खेलमा नेपालले पूर्व विश्वकप विजेता इंग्ल्यान्डलाई अन्तिम बलसम्म संघर्ष गर्न बाध्य बनायो। सानो टोली मानिने नेपालले दिएको कडा चुनौतीपछि विश्व क्रिकेटमा ठूलो चर्चा सुरु भएको छ।

यसैबीच दक्षिण अफ्रिकाका महान तीव्र गतिका बलर तथा एक समय विश्वका नम्बर–१ बलर डेल स्टेनले नेपाली टोलीप्रति खुलेर प्रशंसा गर्दै कोचिङ गर्न इच्छुक रहेको बताएका छन्। स्टेनले सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेटलाई सम्बोधन गर्दै लेखेका छन्, “नेपाल, यदि कहिल्यै मेरो आवश्यकता पर्‍यो भने म आफ्नो सेवा दिन तयार छु। अगाडि बढिरहनुहोस्, अझ माथि पुग्नुहोस्!”

डेल स्टेनजस्ता विश्वप्रसिद्ध बलरको यस्तो प्रस्ताव नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। उनको यो अभिव्यक्तिपछि नेपाली क्रिकेट वृत्तमा उत्साहको लहर छाएको छ।

नेपालका तीव्र बलर नन्दन यादवले स्टेनको प्रतिक्रियालाई गौरवको विषय भएको बताउँदै भने, “जसले करिब एक दशक विश्व क्रिकेटमा राज गरे, उहाँले हाम्रो टोलीको प्रशंसा गर्नु र ट्वीट गर्नु हामी सबैका लागि ठूलो प्रेरणा हो।”

विश्वकपमा हार भए पनि नेपालले जितेको आत्मविश्वास र अन्तर्राष्ट्रिय सम्मानले आगामी दिनमा नेपाली क्रिकेट अझ मजबुत बन्दै जाने संकेत दिएको छ।