लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता

   ९ आश्विन २०८३, शुक्रबार १६:५८  

९ असोज, रौतहट । रौतहटको मौलापुर स्थित लालबकैया पुलबाट एक युवक खोलामा हाम फालेर बेपत्ता भएका छन ।

मौलापुरको वडा नं. ४ स्थित लालबकैया खोलामा आज दिउसो १ बजे बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ११ कटहरिया टोलका करिब २७ वर्षीय सचिन्द्र यादव हाम फालेर बेपता भएका हुन ।

आज दिउँसो करिब १ बजे आफ्ना दाजु सिकिन्द्र यादवसँग मोटरसाइकलमा कचोर्वाबाट उपचारका लागि गरुडा आउदै गरेका सचिन्द्र यादव लालबकैया पुलमा पुगेपछि मोटरसाइकलबाट झरेर खोलामा हाम फालेका थिए । “भाइलााई मोटरसाइकलमा लिएर गरुडा जादै थिए । पुलमा आइपुगेपछि उ बाइकबाट ओर्लेर खोलमा हाम फाल्यो ।” दाजु सिकन्द्र यादवले भने “मानसिक रूपमा अस्वस्थ रहेका भाइको उपचार भइरहेको थियो ।”

घटनाबारे दिउँसो करिब २ बजे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित ७ जनाको टोली पनि खोजीमा खटिएको छ ।

हाल २४ जना प्रहरीको टोलीले लालबकैया खोलामा बेपत्ता यादवको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहका प्रवक्ता डिएसपी बसन्त गौतमले बताए । वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव तिव्र रहेको छ ।