दशैं, तिहार र छठमा मधेशका ८ जिल्लामा ७ हजार भन्दा बढी प्रहरी परिचालन
२१ असोज, जनकपुरधाम । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मधेश प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन गरिने भएको छ। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले तयार पारेको चाडपर्व सुरक्षा योजनाअनुसार प्रदेशका आठवटै जिल्लामा असोज २९ गतेदेखि कात्तिक ३० गतेसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ।
सुरक्षा योजनाअनुसार मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालका अनुसार आठवटै जिल्ला प्रहरी कार्यालयबाट गरी १ हजार ५११ ड्युटीमा ७ हजार २२९ प्रहरी खटाइने बताए । सबैभन्दा धेरै धनुषामा १ हजार ५९९ र सबैभन्दा कम सिरहामा ६५१ प्रहरी परिचालन हुनेछन्। पर्सामा ६६१, बारामा ८७०, रौतहटमा ८६३, सर्लाहीमा ७९२, महोत्तरीमा ७४७ र सप्तरीमा ८५७ प्रहरी परिचालन गरिने योजना छ ।
चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन क्यूआरटी, स्ट्राइकिङ, ट्राफिकसहितको चेकिङ, मोबाइल तथा पैदल गस्ती, शंकास्पद स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ र यात्रु सहायता कक्ष सञ्चालन समेत गरिने प्रवक्ता ढकालले बताए ।
त्यस्तै सीमा नाकामा चोरी तथा तस्करी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, बजार अनुगमन, कर्डन एन्ड सर्च, सभा–जुलुस तथा धर्नामा आकस्मिक सुरक्षा र विपद् प्रतिकार्य टोली परिचालन गरिनेछ। सीमा नाकामा हेल्प डेस्कसमेत सञ्चालन गरिने सुरक्षा योजनामा उल्लेख छ।
सुरक्षा योजनाअनुसार विभिन्न ड्युटीका लागि मात्रै ५ हजार ४८१ प्रहरी परिचालन हुनेछन्। बाँकी जनशक्ति कमाण्ड पोस्ट, संयुक्त गस्ती, सादा पोशाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ।
प्रहरीले नेपाल–भारत खुला सीमा भएका कारण चाडपर्वका बेला अत्यधिक मानिसको आवतजावत हुने र तस्करी तथा अवैध सामान ओसारपसारको जोखिम बढ्न सक्ने आकलन गरेको छ।
धार्मिक स्थलमा हुने भीडमा चोरी, लुटपाट तथा मानिस हराउनेदेखि छठ घाटमा डुबान, डुब्ने र भीडजन्य दुर्घटनाको जोखिमलाई समेत सुरक्षा योजनामा समेटिएको छ। दशैंमा घर फर्किने र तिहारपछि बढ्ने आवतजावतका कारण सडक दुर्घटना तथा ट्राफिक जाम हुन सक्ने भन्दै प्रहरीले सडक सुरक्षामा समेत विशेष निगरानी गर्ने जनाएको छ।
सामाजिक सञ्जालमार्फत गलत सूचना तथा अफवाह फैलाएर तनाव सिर्जना हुन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरीले निगरानी बढाउने भएको छ। आगलागी, विद्युत् सर्ट, भीडजन्य दुर्घटना तथा अन्य आकस्मिक विपद्लाई समेत सुरक्षा चुनौतीका रूपमा राखिएको छ।






