७ असोज, रौतहट । रौतहटको गौर नगरपालिका–४ टिकुलियामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा मोबाइलसँग सम्बन्धित स्पेयर पार्ट्स तथा विभिन्न सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरीले गोप्य सूचनाका आधारमा स्थानीय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भोला साहको घरमा खानतलासी गर्दा करिब ५० लाख १४ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल सामग्री बरामद गरेको जनाएको छ।
बुधबार सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटले घरमा खानतलासी गरेको हो। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) चेतराज जोशीको कमान्डमा खटिएको टोलीले गौर–४ टिकुलियास्थित साहको घरमा छापा मारेको थियो।
सशस्त्र प्रहरीका अनुसार खानतलासीका लागि एसपी जोशीको कमान्डमा करिब ४५ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो। टोलीमा गौर भन्सार कार्यालय रौतहटका प्रतिनिधिसमेत सहभागी थिए।
घरमा खानतलासी गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा मोबाइल फोनसँग सम्बन्धित विभिन्न प्रकारका स्पेयर पार्ट्स तथा सामग्री फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामग्रीमा मोबाइल मर्मत तथा प्रयोगसँग सम्बन्धित विभिन्न सामान रहेको बताइएको छ।
सशस्त्र प्रहरीले बरामद भएका सामग्रीको प्रारम्भिक अनुमानित मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको जनाएको छ। ठूलो परिमाणमा मोबाइलसँग सम्बन्धित सामग्री फेला परेपछि उक्त सामानको स्रोत, भन्सार प्रक्रिया तथा कानुनी अवस्थाबारे थप अनुसन्धान अघि बढाइएको बताइएको छ।
खानतलासीका क्रममा तीन थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। मोटरसाइकल कुन प्रयोजनका लागि प्रयोग हुँदै आएका थिए भन्ने विषयमा समेत आवश्यक अनुसन्धान हुने बताइएको छ।






