म्यान्मारको सेनाले प्रर्दशनकारी माथि गोली चलाउँदा ३८ जनाको मृत्यु

   २० फाल्गुन २०७७, बिहीबार ११:१६  

२० फागुन, रौतहट । सैन्य ‘कु’ विरूद्धमा आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि म्यान्मारको सेनाले चलाएको गोली लागेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

बुधवार म्यान्मारको सेनाले प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो ।बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घले बुधबारको घटनालाई सेनाले सत्ता हातमा लिएयताकै ‘रक्तपातपूर्ण’ दिनको रूपमा अर्थ्याएको छ । म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य देखिएको बताएकी छन् । सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते भएको उनले बताइन् ।