चन्द्रपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

   २८ आश्विन २०८३, बुधबार १५:१५  

२८ असोज, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

आज बिहान करिब १०ः५५ बजे सिन्धुरेघारीबाट चन्द्रपुरतर्फ आउँदै गरेको म.प्र.०३–००१ क २८७८ नम्बरको मुनलाइट एकेडेमीको स्कुल बसले बालिकालाई ठक्कर दिएको हो ।

प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–८ मोतीपुर निवासी सिकेन्द्र चौधरीकी छोरी महिमा चौधरी घरअगाडि सडक छेउमा खेलिरहेको अवस्थामा बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोको पछाडिको भागमा गम्भीर चोट लागेपछि बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुल बसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ भने बस चालक चन्द्रपुर नगरपालिका–४ निवासी कान्छा राईलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बालिकाको शव पोस्टमार्टमका लागि चन्द्रपुर सरकारी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।