चर्को मूल्यका कारण माग कमजोर बनेपछि आईफोन १८ प्रो सिरिजको उत्पादन घटाउँदै एप्पल
२८ असोज, काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सका केही पाटपुर्जाको उत्पादन घटाउन आपूर्तिकर्ताहरूलाई निर्देशन दिएको छ । मेमोरी चिपको मूल्यसँगै आईफोनको मूल्य महँगो बन्दा उपभोक्ताको माग घटेपछि कम्पनीले यस्तो कदम चालेको हो ।
एप्पलले सेप्टेम्बरको सुरुदेखि नै आईफोनको आपूर्तिका विषयमा आफ्नो रणनीति थप सतर्क बनाएको निक्केई एसियाको रिपोर्टलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । कम्पनीले अक्टोबरका लागि पाटपुर्जाको अर्डर सुरुमा माग गरेको परिमाणको तुलनामा कम्तीमा १५ प्रतिशत घटाएको छ ।
मेमोरी चिपको बढ्दो लागतले स्मार्टफोन उत्पादन खर्च बढाएको छ । त्यससँगै आईफोनको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमतामा असर परेको र माग कमजोर भएको यस विषयमा जानकार विभिन्न व्यक्तिलाई उद्धृत गर्दै निक्केई एसियाले रिपोर्टमा उल्लेख गरेको छ ।
यद्यपि, एप्पलले उत्पादन कटौतीबारे आधिकारिक रूपमा पुष्टि भने गरेको छैन । एआई डेटा सेन्टर सञ्चालनका लागि आवश्यक चिप उत्पादन क्षमता र मेमोरी चिप खरिद गर्न प्रविधि कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ । यसले चिपको अभाव र मूल्यवृद्धि निम्त्याएको छ । यसको असरले यस वर्ष पर्सनल कम्प्युटर र स्मार्टफोनको बजार खुम्चिन सक्ने अनुमान गरिएको छ ।
मेमोरी र स्टोरेज चिपको मूल्य बढेपछि एप्पलले यसअघि जुन महिनामा आईप्याड र म्याकबुकको मूल्यसमेत बढाएको थियो । एआई उद्योगका डेटा सेन्टर निर्माणका कारण चिपको लागत तीव्र रूपमा बढेपछि त्यसको भार ग्राहकबाट जोगाउन नसकिने कम्पनीले जनाएको थियो ।
निक्केई एसियाका अनुसार अगस्टको अन्त्यदेखि अक्टोबरसम्म एप्पलका डिभाइसको माग कमजोर देखिएको छ । यद्यपि, यो अवस्था आईफोनका विभिन्न मोडेल सार्वजनिक गर्ने आफ्नो तालिका परिवर्तन गरेका कारण पनि आएको हुन सक्ने रिपोर्टमा उल्लेख छ ।
एप्पलले गत महिना आफ्नो नयाँ पुस्ताको फ्ल्यागसिप स्मार्टफोन सार्वजनिक गरेको थियो । कम्पनीले आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै आफ्नो पहिलो फोल्ड गर्न मिल्ने फोन ‘डुओ’ पनि सार्वजनिक गरेको थियो ।
नेपाली बजारमा आईफोन १८ प्रो को मूल्य मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँदेखि मूल्य ५ लाख १३ हजार ९०० रुपैयाँसम्म रहेको छ । त्यसैगरी, आईफोन १८ प्रो म्याक्सतर्फ २ लाख ७९ हजार ९०० रुपैयाँदेखि ५ लाख ३४ हजार ९०० रुपैयाँसम्म रहेको छ ।
एप्पलले आईफोनलगायत आफ्ना उत्पादनमा एआईसम्बन्धी सुविधा थप्दै लगेपछि उच्च क्षमताका मेमोरी चिपको माग पनि बढेको छ । विश्वव्यापी रूपमा चिप अभाव भइरहेका बेला यसले मेमोरी चिप आपूर्तिकर्ताको रणनीतिक महत्त्व थप बढाएको छ ।






