इजरायलद्वारा अल जजिराका पत्रकार सहित ६ जनाको हत्या
२६ साउन, काठमाडौं । इजरायली सेनाले गाजामा अल जजिराका ६ जना पत्रकार र उनका सहकर्मीहरूको हत्या गरेको पुष्टि भएको छ। इजरायलले विशेषगरी रिपोर्टर अनस अल-शरीफलाई हमासको एक सेलको नेतृत्व गरेको आरोप लगाउँदै निशाना बनाएको जनाएको छ।
अलजजिराले अनस अल-शरीफलाई गाजाका सबैभन्दा साहसी पत्रकारमध्ये एक बताउँदै उनको र अन्य सहकर्मीहरूको हत्या गाजामा हामीले राखेका आवाजहरूलाई दबाउने निन्दनीय प्रयास भएको प्रतिक्रिया दिएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार, मारिनेमा संवाददाता अनस अल-शरीफ, मोहम्मद क्रेकेह, क्यामेराम्यान इब्राहिम जहेर, मोहम्मद नौफल र मोमेन अलिवा रहेका छन्। बीबीसीले पाँच जना पत्रकारको हत्याको तथ्यांक प्रस्तुत गरेको छ भने अलजजिराले यस हमलामा जम्मा सात जनाको मृत्यु भएको र ६ जना अलजजिराका सहकर्मीहरू मारिएको जनाएको छ।
यो घटनाले पत्रकारितामाथि हुने हिंसाको गम्भीरता पुनः पुष्टि गरेको छ र विश्वभरि सञ्चार स्वतन्त्रताको सवालमा गहिरो चिन्ता उत्पन्न भएको छ।
अलजजिराले मृतक पत्रकारहरूको परिवारलाई सम्पूर्ण सहयोग गर्ने र यस घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूले पनि यस घटनाको कडा निन्दा गरेका छन्।






