गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

   १२ श्रावण २०८२, आईतवार १२:३७  

११ साउन, काठमाडौं । गाजामा इजरायलले खाद्यान्न आपूर्ति रोक्दा बालबालिकाहरू नुन चाटेर र पानी पिएर भोक मेट्न बाध्य भएका छन्। इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ बालबालिका छन्।

केवल जुलाई महिनामै १६ बालबालिका सहित ४० जनाले भोककै कारण ज्यान गुमाएका छन्। गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार एक सानो बिस्कुटको मूल्य एक हजार रुपैयाँभन्दा बढी पर्न थालेको छ। पैसा निकाल्न ४५ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ।

इजरायलले विदेशी पत्रकारलाई गाजामा प्रवेश नदिएकाले स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन्। उनीहरूका अनुसार त्यहाँ धेरै मानिस कुपोषणका कारण गम्भीर स्वास्थ्य समस्यामा छन्।

दक्षिण गाजाको नासिर अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार अहिले अस्पतालमा हवाई आक्रमणका घाइतेभन्दा बढी कुपोषित बालबालिका आइरहेका छन्।

संयुक्त राष्ट्रसंघले गाजाको एक तिहाइ जनसंख्या दिनभरिमा एकपटक मात्र खाने पाएको जनाएको छ।

मानवीय संकटबीच इजरायली सेनाले गाजामा हवाई मार्गबाट सहायता पुर्‍याउन थालेको छ। अमेरिकास्थित इजरायली राजदूतका अनुसार गाजामा आइतबारदेखि मानवीय कोरिडोर खोलिनेछ।

यता, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासविरुद्ध इजरायललाई कडा कारबाही गर्न आग्रह गरेका छन्।

गाजाको सरकारी मिडियाले भने इजरायली सेनाले मानवीय सहायता मार्फत लागूपदार्थ पठाएको आरोप लगाएको छ। गाजा ह्युम्यानिटेरियन फाउन्डेसनद्वारा बाँडिएको पीठोको बोरामा लागूपदार्थ भेटिएको उनीहरूको दाबी छ।