मर्स्याङ्दी नदीमा बस दुर्घटना, १२ वटा शव निकालियो
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खस्दा कैयौँ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट कम्तीमा १२ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ। नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।
आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।
पोखराबाट काठमाण्डूतर्फ जाँदै गरेको उक्त बस भारतको उत्तर प्रदेशमा दर्ता भएको देखिन्छ। दुर्घटनाको कारण खुल्न बाँकी छ। उक्त बसमा झन्डै ४० जना सवार रहेको अनुमान गरिएको छ।






