डिआइजी थपलियालाई मधेशमा असुली धन्दा चलाएको आरोप
१० वैशाख, रौतहट । मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया विवादमा तानिएका छन ।
प्रहरी प्रयोग गरेर तस्करहरुबाट मासिक रकम असुल गर्ने गरेको अडियो सार्वजनिक भएपछि डिआइजी थपलियाको पोल खुलेको हो ।
मधेस प्रदेश अन्तर्गत धनुषाको प्रहरी चौकी जानकीका इन्चार्ज सई सागर शमसेर जबरा र एक व्यापारीको बिचमा भएको कुराकानी सामाजिक सञ्जालमा भाइरल छ । वरिष्ठ प्रहरी नायव निरीक्षक सागर शमसेर जबरासँग कुरा गर्दा ती व्यापारीले डीआईजीको नाममा आफूसँग मासिक ३ लाख र अर्का एकबाट डेढ लाख रुपैयाँ डीआईजीका घुमुवाले असुल्ने गरेको आरोप लगाएका छन् ।
अडियो संवादमा ती व्यापारी भन्छन्, ‘मसँग जयलाल यादवले ३ लाख लिएर जान्छन्, उमेशबाट १ लाख ५० हजार ।’
जयलाल यादव प्रहरीका सई हुन् । उनको दबरन्दी जिल्ला प्रहरी कार्यालय सिरहा भए पनि उनी तराईका आठ वटै जिल्लामा डुल्छन् र डीआईजीले भनेअनुसार काम गर्छन ।
२०८२ असोज २४ मा मधेस प्रदेशमा गएका डीआईजी थपलियाले आफ्नो कार्यालयमा अर्का वरिष्ठ सई राखेका छन् । उनी हुन्, गोपाल थापामगर । मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत थापा मगरले प्रदेशभरका जिल्लामा तस्करसँग मिलेर नाका सहज बनाउने र असुली धन्दा चलाउने गरेको आरोप छ । थापा मगरबारे मधेस प्रदेशमा कार्यरत एक जना प्रहरी अधिकृत भन्छन्, ‘थापा मगर वरिष्ठ सई होइनन्, मधेसका एआईजी हुन ।’ उनको व्यङ्ग्यअनुसार डीआईजी थपलियाभन्दा बलिया छन् थापा मगर ।
जिल्लाका एसपीहरूलाई उनले भनेको गर्न ‘बाध्य’ पार्ने हैसियत थापामगरले बनाएका छन् । सामाजिक सञ्जालमा जबराको अडियो सार्वजनिक भएपछि वरिष्ठ सईद्वय जबरा, थापा मगर र सई यादवलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।
आफूविरुद्ध प्रमाण हुनेगरी अडियो कुराकानी सार्वजनिक गरेको आरोपमा डीआईजी थपलियाले वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया बढाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालले वैशाख ७ मा जबरालाई निलम्बनको प्रक्रिया सुरु गरिएको विषय प्रेस विज्ञप्ति प्रकाशन गरेर सार्वजनिक गरेका हुन ।
जबरा र व्यापारीबिच भएको कुराकानीबारे डीआईजी थपलिया भन्छन्, ‘नियोजित हिसाबले योजना बनाएर फोन गरेर रेकर्ड गरेको जस्तो देखिन्छ, त्यसबारे अनुसन्धान भइरहेको छ ।’ अडियो विवरणअनुसार भारतबाट भन्सार छलेर सामान ल्याउनेहरूसँग सई जयलालले डीआईजीको नाममा रकम असुल्ने गरेको देखिन्छ ।
वरिष्ठ सई थापा मगर र सई यादवलाई घुमुवाका रूपमा परिचालन गरेर मधेसमा ‘असुली धन्दा’ चलाएको आरोपबारे डीआईजी थपलियाले भने, ‘आरोपको पुष्ट्याँइ हुनुपर्छ ।’ मधेसमा पछिल्लो समय देखिएको ‘आर्थिक विवाद’बारे प्रहरी हेड्क्वार्टरले छानबिन गरिरहेको डीआईजी थपलियाले बताए ।






