विन्डोजमा आएको समस्या इतिहासकै सबैभन्दा ठूलो !

   ६ श्रावण २०८१, आईतवार ११:४०  

काठमाडौं । शुक्रबार विश्वव्यापी रूपमा विभिन्न एयरलाइन्स, रेलवे, स्टक एक्सचेञ्ज, टेलिभिजन प्रसारण, टेलिकम, बैङ्क लगायतका अनलाइन सेवा ठप्प भए । ​क्राउडस्ट्राइक अपडेट इन्स्टल गर्दा प्रयोगकर्ताले ब्लु स्क्रिन अफ डेथ (बीएसओडी) एररको समस्या सामना गर्नु परेको थियो ।

विशेषगरी लाइसेन्स प्राप्त विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यसखाले समस्या बढी देखिएको थियो । नेपालमा समेत बैङ्किङ सेवा तथा टेलिकम समस्या यसबाट प्रभावित भएको थियो ।

बीबीसीका अनुसार यो आईटी समस्याका कारण विश्वभर पाँच हजारभन्दा बढी उडानहरू रद्द भएका छन्, जसका कारण यात्रुहरूलाई रातभर विमानस्थलमा बस्नु परेको छ । विश्वका विभिन्न विमानस्थलहरूमा लामो लाइन, ढिलाइ र उडान रद्द हुने समस्या देखिएका छन् । यात्रुहरूलाई म्यानुअल चेक-इन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

केही सुपरमार्केटहरूले कार्ड भुक्तानीमा समस्या झेल्नु परेको छ भने केवल नगद भुक्तानी मात्र स्वीकार्नुपर्ने अवस्था आएको छ । यस समस्याले धेरै ठूलादेखि साना व्यवसायहरूलाई प्रभावित गरेको छ । ठूला कम्पनीहरूले छिट्टै समस्या समाधान गर्न सक्ने भए पनि साना र मध्यम आकारका व्यवसायहरूले कर्मचारीको कमीका कारण समस्या समाधान गर्न कठिनाइ भोग्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।

​क्राउडस्ट्राइक कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा यो समस्या आएको विश्लेषकहरूले बताएका छन् । फाल्कन कम्पनीको एउटा मुख्य प्रडक्ट हो । यसले कम्प्युटरमा हुने आक्रमणको जानकारी, हाइपर एकुरेट डिटेक्सन र अटोमेटेड प्रोटेक्सन लगायतका सेवा दिन्छ । अर्थात् यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोज डिभाइसहरूलाई दुष्ट आक्रमणबाट जोगाउन बनाइएको आफ्नो एन्टिभाइरस सफ्टवेयरको अपडेटका कारण समस्या आएको स्वीकारेको छ । अहिले अपडेटलाई ठीक पारिए पनि सबै प्रणालीहरू पूर्ण रूपमा पुन: सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

यस घटनापछि प्रविधि सम्बन्ध विभिन्न व्यक्तिले फरक-फरक प्रतिक्रिया दिएका छन् । यसले विश्वभर कति आर्थिक भार पार्यो भन्ने जानकारी अझै आउन बाँकी छ । तर हिजो क्राउडस्ट्राइकको शेयरमा ११ प्रतिशत गिरावट आएको थियो ।

वरिष्ठ साइबर सुरक्षा अनुसन्धानकर्ता ट्रोय हन्टले यस घटनालाई इतिहासमा भएको सबैभन्दा ठूलो आईटी आउटेजका रुपमा लिएका छन् । उनको यो भनाइलाई धेरै हदसम्म साँचो मान्ने मान्छे धेरै छन् । किनकि यो समस्या कुनै देश, कुनै खास क्षेत्र मात्र नभएर पुरै विश्व र धेरै क्षेत्रमा असर परेको थियो ।

एफटीसीकी अध्यक्ष लीना खानले भने बजार शक्तिमा केन्द्रित हुँदा आउटेजको समस्या भएको तर्क गरेकी छिन् । केही प्रणालीहरूमा धेरै भरोसा राख्नाले यस्तो कमजोर आएको उनको भनाइ छ ।

क्राउडस्ट्राइकका संस्थापक तथा सीईओ जर्ज कुर्ट्जले भने एक ब्लगमार्फत यस घटना भएकोमा औपचारिक रुपमा माफी मागेका छन् । जसमा उनले समस्या पहिचान गरेर समाधान गर्न नजिकबाट काम गरिरहेको बताएका छन् । सीईओ कुर्ट्जले ग्राहकहरूको विश्वासमा कुनै कमी नआओस् भन्ने प्रतिवद्धता व्यक्त गर्दै भविष्यमा यस्ता समस्याहरू दोहोरिन नदिन सबै कदम चाल्ने आश्वासन दिएका छन् ।

त्यस्तै माइक्रोसफ्टका सीईओ सत्या नादेलाले क्राउडस्ट्राइको अपडेटका कारण नै विश्वव्यापी रूपमा आईटी सिस्टममा असर परेको बताएका छन् । यसका साथै समस्याबारे सचेत भएको र आफ्ना ग्राहकहरूको प्रणालीहरूलाई सुरक्षित रूपमा अनलाइन फिर्ता ल्याउन क्राउड स्ट्राइकसँग काम गरिरहेको बताएका छन् । ‍