नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

२८ फागुन, काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकप्रेरित नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलाअन्तर्गत आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)सामु २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कप्तान रोहितले अर्धशतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनायो ।
नेपालका रोहितले ११२ बलमा नौ चौकासहित ७७ रन बनाए । ७६–४ को अवस्थामा रहँदा रोहितले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ८६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । आरिफले ५२ बलमा पाँच चौकासहित ४३ रन बनाए ।
त्यसअघि, २२–३ को अवस्थाबाट रोहितले भीम सार्कीसँग ५४ रनको साझेदारी गरेका थिए । भीमले ३७ बलमा चार चौकासहित २९ रन बनाए ।
दोश्रो इनिङ्गको खेलमा अहिले सम्म नेपालले ४ विकेट प्राप्त गरिसकेको छ भने यूएईले ७ ओभरमा १३ रन मात्र बनाउन सकेको छ ।