कोरोनाभाइरसविरुद्ध खोप अन्तिम चरणमा

   ३ मंसिर २०७७, बुधबार १६:४८  

३ मंसिर, रौतहट । अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको कोभिड–१९ विरुद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी देखिएको छ । मोडर्नाले क्लिनिकल परीक्षणमा सहभागी भएकाहरूको नतिजा विश्लेषण गर्दा उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको जनाएको हो ।

फाइजर र बायोएनटेकले निर्माण गरेको खोपले कोभिडका ९० प्रतिशत बिरामी निको पारेको दाबी गरिएको केही दिनमा मोडर्नाले यो घोषणा गरेको हो । मोडर्नाले ‘महान्’ दिन भन्दै खोप प्रयोगका लागि अनुमति लिन केही दिनमै आवेदन दिने बताएको छ । कम्पनीका अनुसार यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए । सहभागीमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । तर खोप एक पटक लगाएपछि कति समयसम्म काम गर्छ भन्नेबारे केही उल्लेख गरिएको छैन ।

‘तेस्रो चरणको परीक्षणको सकारात्मक नतिजाको विश्लेषण गर्दा यो खोपले कोभिड–१९ का बिरामीलाई निको पार्ने देखिएको छ,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टेफान बान्सेलले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

मोडर्ना र फाइजर दुवै कम्पनीले निर्माण गरेका खोप एमआरएनए प्रविधिमा आधारित हुन् । एमआरएन शरीरका कोषहरूका लागि एउटा सफ्टवेयरजस्तै हो । यो प्रविधिमा निर्मित खोपले कोषहरूले निर्माण गरेको प्रोटिनलाई शरीरका विभिन्न भागमा पढाउन निर्देशन दिने गर्छ । जसका कारण मानिसको शरीरमा भाइरसविरुद्ध एन्टिबडी निर्माणका लागि रोग प्रतिरोधात्मक क्षमता बढ्दै जान्छ ।

तर मोडर्नाको खोप भण्डारणका लागि भने सहज देखिएको छ । बान्सेलका अनुसार यो खोप माइनस २० डिग्री सेल्सियस तापक्रममा सुरक्षित रहन्छ । यसअघि फाइजरले विकसित गरेको खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने जनाइएको थियो ।