माहामारी विरुद्धको लडाइँमा अमेरिकाले नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग

   २८ कार्तिक २०७७, शुक्रबार १३:३७  

२८ कार्तिक, रौतहट । संसारभर फैलिएको कोरोना माहामारी विरुद्धको लडाइँमा सहयोग र्पुयाउन भन्दै अमेरिकाले नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकी राजदूत यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।

भेन्टिलेटर हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत बेरीले अमेरिका असल र खराब सबै समयमा नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।

स्वास्थ्य मन्त्री ढकालले कोभिडविरुद्धको लडाइँमा अमेरिकाले शुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गरे ।

मन्त्री ढकालले अमेरिकाबाट सहयोगस्वरुप प्राप्त भेन्टिलेटर शुक्रबारबाटै वितरण शुरु गरिने पनि बताए ।

अमेरिकाले सहयोग गरेका १०० वटा भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७–७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटरलाई हरेक सरकारी अस्पतालमा २–२ वटाका दरले वितरण गरिने मन्त्री ढकालले जानकारी दिए ।