बाइडेनः हामी निर्वाचन जित्ने दिशामा छौं
१९ कात्तिक, रौतहट । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिकतर्फका प्रत्यासी जो बाइडेनले निर्वाचनमा विजयी दिशातर्फ गइरहेको विश्वास रहेको बताएका छन् । अहिलेसम्म मतगणना भएका राज्यमध्ये बाइडेनले धेरै इलेक्टोरल भएका राज्य आफ्नो पक्षमा पारेका छन् । राष्ट्रपतिय निर्वाचनमा कुल ५ सय ३८ इलेक्टोरेलमध्ये २ सय ७० इलेक्टोरेल जसको पक्षमा आउँछ, उही निर्वाचित हुन्छ ।
डेलवेरबाट सम्बोधन गर्दै बाइडेनले भने, ‘हामीलाई थाहा थियो यो लामो हुनेछ । सायद भोलि बिहान या त्योभन्दा बढी । हामी जहाँ छौँ हामी खुसी छौँ । हामीलाई विश्वास छ हामी यो निर्वाचन जित्ने दिशामा छौँ ।’ उनले हरेक मत र मतपेटिका नगनेसम्म यो प्रक्रिया नसकिने जिकिर गरे ।
पछिल्लो परिणामअनुसार बाइडेनको पक्षमा २ सय १५ र ट्रम्पको पक्षमा १ सय ६५ इलेक्टोरेल मत छ । यद्यपी, रिपब्लिकन पार्टीको पकड रहेका धेरै राज्यमा मतपरिणाम सार्वजनिक हुन बाँकी नै छ । यस्तोमा, २९ इलेक्टोरल रहेको फ्लोरिडा राज्यको परिणाम ट्रम्पका लागि निर्णायक रहने अनुमान गरिएको छ ।
विश्लेषकहरु राष्ट्रपतिका रुपमा कायम रहिरहने संभावना जीवित राख्न उनले यस राज्यमा विजय हासिल गर्नैपर्ने बताइरहेका छन् । २०१६ मा ट्रम्पले फ्लोरिडा जितेका थिए ।