भारतमा वर्षाका कारण ११ जनाको मृत्यु, थप विवरण आउन बाँकी

   २८ आश्विन २०७७, बुधबार १०:५०  

२८ असोज, रौतहट । लगातार वर्षाका कारण भारतको हैदराबादमा हालसम्म ११ जनाको मृत्यु भएको छ ।  यीमध्ये ९ जनाको मृत्यु पर्खाल भत्किएका कारण भएको हो ।

सडक जलमग्न छन् र केही तल्लो इलाका पूर्ण रुपमा जलमग्न छन् । बर्षाका कारण हैदराबाको बिभिन्न ठाउँमा क्षति पुगेको छ ।

हैदाराबाद लोकसभा सीटबाट सांसद असदुद्दीन औवेसीले नीजि पर्खाल भत्किएका कारण ९ जनाको मृत्यु भएको र दुईजना घाइते भएको जानकारी दिए ।

अर्को घटनामा ४० वर्षीया महिला र उनकी १५ वर्षीया छोरीको मृत्यु भएको छ । भारी वर्षाका कारण मंगलबार इब्राहिमपटनम इलाकामा उनीहरुको पुरानो घरको छत भत्किएको थियो ।

तेलंगानाको थुप्रै इलाकामा मंगलबारदेखि नै भारी वर्षा भइरहेको छ । यसैकारण मानिसहरुको जीवन अस्तव्यस्त भएको छ । हैदराबादका थुप्रै इलाका जलमग्न भएको देखिन्छ ।