टिकटकमाथि पाकिस्तानले लगायो प्रतिबन्ध
२४ असोज, रौतहट । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण (पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।
पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड गरिएको छ ।
टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो । पछिल्लो समय यो एप युवा पुस्तामाझ निकै नै लोकप्रिय मानिन्छ । तर यसमा पोस्ट हुने विषयबस्तुलाई लिएर भने बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । केही समयअघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।